मकवानपुर – मकवानपुरमा मास्क नलागाई हिड्नेलाई एक सय रुपैयाँ जरीवाना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार बसेको डिसिएमसीको बैठकले मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेलाई एक सय रुपैँया जरिवाना गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएको अवस्थामा मास्क नलगाई हिँडडुल गर्ने जो कोहिले एक सय रुपैँया जरिवान तिर्न पर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । यस्तै बैठकले सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा जादा खोप कार्ड अनिवार्य गरिएको र खोप नलगाएकालाई खोप लगाउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै बैठकले बजारमा भिडभाड व्यवस्थापन÷नियन्त्रण गर्ने एवम् जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, गराउने सम्बन्धमा सम्बन्धीत पक्ष तथा व्यवसायी सचेत गराउनुका साथै खोपको कभरेज बढाउन सम्बन्धीत सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ । मकवानपुरमा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतनामूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहलगायत संघ संस्थाहरु सकृय भएर लागेका छन् ।
आइतबार थप ९१ जनामा कोरोना पुष्टि
यसैबीच मकवानपुरमा आइतबार थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७० जनाको परिक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार आइतबार पिसिआर विधिबाट ३८ जनाको परीक्षण गर्दा १२ जनामा र एन्टिजेन विधिबाट १ सय ३२ जनाको परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १५ सय ७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप २० जना कोरोना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।