मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको बढ्दो क्रमलाई नियन्त्रण गर्न विभिन्न १३ बुँदे आदेश जारी गरेको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको सिफारिसमा मंगलबार राती १२ बजेबाट लगु हुने गरि विभिन्न १३ बुँदे आदेश जारी गरेको हो ।
प्रशासनले जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा निस्कँदा अनिवार्य स्वास्थ्य सम्बन्धी मापदण्ड पालना लगायतका आदेश जारी गरेको छ । प्रशासनले आदेशको उलंघन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी समेत दिइएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस एवम् गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी कोभिड नियन्त्रणका लागि आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा आवश्यक काम परी घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने नगराउने र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । यस्तै भौतिक रुपमा २५ जना भन्दा बढी उपस्थित भएर गरिने सबै प्रकारका कार्यक्रम आयोजना गर्न नपाइने र अत्यावश्यक नगरी नहुने कार्यक्रमको हकमा प्रशासनको अनुमती लिएर मात्रै संचालन गर्न पाइने जनाईएको छ ।
यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान बैंक, वित्तिय संस्था तथा सहकारीहरुले भिड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न पाइने ब्यवस्था मिलाईएको छ । सबै विद्यालयहरुमा बार्षिक विदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बन्द हुने तथा सबै शैक्षिक संस्थाले पुर्वनिधारित परिक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी संचालन गर्न पाउने उल्लेख छ ।
यस्तै होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरुको हकमा दैनिक निसंक्रमित गर्ने ब्यवस्था मिलाउने र कामदार तथा कर्मचारीहरुदलाई अनिवार्य मास्क, फेसफिल्ड लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड सुनिश्चत गर्नुपर्नेछ । त्यस्तै उद्योग कलकारखाना तथा ब्यापार ब्यवसाय संचालनको हकमा पनि भिडनहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्न गराउनु पर्ने जनाईएको छ ।
यस्तै सार्वजनिक यातायातहरुमा चालक, सहचालक तथा यात्रुहरुलाई मास्क अनिवार्य गर्ने र खोप लगाएका ब्यक्तिलाई मात्र यात्राको सुनिश्चितता गर्न प्रशासनले आदेश दिएको छ । जिल्लाभरका धार्मिक स्थालको हकमा भने नित्य पुजाँ बाहेक अन्य क्रियाकलापहरु संचालन नगर्न भनिएको छ । साथै पार्क तथा पिकनिक स्पोटहरु र खेलमैदानमा हुने सामुहिक खेलकुदहरु बन्द गर्न आदेश दिएको छ ।

No photo description available.