काठमाडौं । दीपावली (तिहार) पर्वको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गरी धनतेरस पर्व मनाईंदैछ । आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।  धनतेरसका दिन सुन, चाँदी, तामा लगायतका धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।  यो दिन किनिएको वस्तु टिकाउ, लाभदायक र शुभ हुने धार्मिक मान्यता रहेकाले तिहार पर्वको पहिलो दिन आफ्नो गच्छेअनुसार सबैले केही न केही किन्ने परम्परा छ । आज राजधानी काठमाडौं लगायत देशका सबैजसो स्थानमा सुनचाँदी लगायत धातुजन्य सामान पाइने पसलमा सामान किन्नेको घुइँचो नै लाग्ने गर्दछ ।  पहिले नेपालको तराई क्षेत्र विशेषगरी मैथिली समुदायमा मनाउने यो पर्व पछिल्ला वर्षहरुमा देशभरी नै मनाउने प्रचलन छ ।