काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित हुनुभएको छ । ज्येष्ठ सदस्य दीननाथ शर्माको अध्यक्षतामा आज बसेको नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्विरोध निर्वाचित गरेको हो ।
उहाँको प्रस्तावकमा केन्द्रिय सदस्य नारायणकाजी श्रेष्ठ र समर्थकमा केन्द्रिय सदस्य कृष्णबहादुर महरा रहनुभएको थियो । आज दिउसो ३ बजेका लागि बोलाइएको केन्द्रीय समितिको पहिलो बैठक दिउसो ४ बजेपछि ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको हो । माओवादी केन्द्रले केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यतालिका छ ।
यस्तै बैठकले मनोनयन गर्न बाँकी केन्द्रीय समितिका सदस्यको सूची समेत प्रस्तुत गर्ने बताइएको छ । आज बस्ने केन्द्रिय समितिको पहिलो बैठकले पार्टीको केन्द्रिय पदाधिकारी चयन प्रक्रिया अघि बढाउने माओवादी केन्द्र केन्द्रिय निर्वाचन आयोगका प्रमुख विष्णपुकार श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशनले केन्द्रीय समिति चयन गरे पनि पोलिट ब्युरो, स्थायी समिति र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ ।
यस्तै पोलिट ब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ । प्रज्ञा भवनमा आइतबार बन्द सत्रमा निवर्तमान अध्यक्ष एवम् केन्द्रिय सदस्य पुष्प कमल दाहाल प्रचण्डले २ सय ३६ जनाको केन्द्रीय समिति घोषणा गर्नुभएको थियो, ६३ सदस्य चयन गर्न बाँकी छ । पार्टीको विधान अनुसार पार्टीको महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने र थप १५ प्रतिशत सदस्यको केन्द्रिय समितिले मनोनयन व्यवस्था छ ।
यसैबिच, आजै केन्द्रीय समिति सदस्यहरूले आज शपथ ग्रहण समेत गर्नुभएको छ । हिजो सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २ सय ३६ जना केन्द्रीय सदस्यहरूलाई आज निर्वाचन आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले शपथ ग्रहण गराउनुभएको हो ।