मकवानपुर – नेकपा एमाले मकवानपुरको पुष २३ र २४ गते हेटौँडामा हुने एघारौं जिल्ला अधिवेशनका लागि थाहानगरपालिकामा प्रतिनिधि छनोट सर्वसम्मत भएको छ । थाहा नगरको १२ वटै वडामा आज भएको छनाेट प्रकृयाबाट ४० जना प्रतिनिधि चुनिनु भएकाे एमाले थाहाका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले जानकारी दिनुभयो ।
८५२ जना पार्टी संगठित सदस्य रहेको थाहानगरबाट भूगोल क्षेत्रबाट ११ महिलासहित ३८ जना र दलित क्षेत्रबाट २ जना गरी ४० जना प्रतिनिधि छनोट भएका हुन् । आयोजक कमिटी सदस्य २३ जना र प्रतिनिधि १ जनासहित थाहानगरबाट कम्तिमा ६४ जनाले जिल्ला अधिवेशनमा भाग लिने उहाँले जानकारी दिनुभयो । एमालेको थाहा नगर कमिटीको आजै बसेको सचिवालय बैठकले वडाबाट छनोट भएका प्रतिनिधिहरुको नामावली प्रमाणित समेत गरेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधि चयनका लागि जिल्ला कमिटी सदस्यहरु र नगर कमिटीका सदस्यहरुले सहजीकरण गर्नुभएको थियो ।