file photo

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक महिनामा नेपालमा आप्रवाह हुने विप्रेषण ७.५ प्रतिशतले घटेको छ । यस अवधिमा विप्रेषण आप्रवाह ३१२ अर्ब ४२ करोड बराबरको भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले घटेर २ अर्ब ६३ करोड भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ९६ हजार ३८२ पुगेको नेपाल राष्ट्र बैकले बुधवार जारी गरेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९ हजार ७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.९ प्रतिशतले घटेको थियो ।