मकवानपुर – नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस लामो इतिहास बोकेको तर भविष्य नभएको पार्टी भएको बताउनुभएको छ । बिहीबार हेटौंडामा प्रेस चौतारी मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले कांग्रेस पार्टीइतिहास बोकेको पार्टी भएपनि भविष्य नभएको बताउनुभयो ।

उहाँले एमालेको इतिहास पनि छ र लामो भविष्य भएको बताउँदै हालको गठबन्धन राष्ट्रिय सभा निर्वाचन सम्म मात्र रहने र आउँदो चुनावमा एमाले र कांग्रेसबिच प्रतिस्पर्धा हुने बताउनुभयो । महाधिवेशन सम्पन्न गरिसकेकोले अब चुनाव केन्द्रित हुने बताउँदै ३ महिनासम्म देशभर पार्टी प्रवेशको लहर छाउने बताउनुभयो । सचिव भट्टराईले गठबन्धनको सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनाएको बताउनुभएको छ । कार्यपालिका भागबन्डमा गएको भन्दै अहिलेको सरकारले संसदलाई बन्दक बनाउनुका साथै न्यायपालिकालाई नाङ्गेझार बनाएको बताउनुभयो । न्यायपालिकाको इज्जत र प्रतिष्ठालाई अहिलेको सरकारले गिराउने काम गरेकोमा सचिव भट्टराईले चिन्ता व्यक्त गर्नुभयो ।
सचिव भट्टराईले छिटो भन्दा छिटो नयाँ जनादेशमा जानु आजको आवश्यकता रहेको समेत बताउनुभयो । चितवनमा सम्पन्न १० औं महाधिवेशनको आयव्यय छिट्टै सार्वजनिक हुने समेत उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, प्रदेश कमिटी सदस्य भोजराज ढकाल, प्रेस चौतारी बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।