चितवन – एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव,उपमहासचिव पदबाहेक पदाधिकारीका अन्य पदहरुमा उम्मेदवारी हुने भएको छ । एमालेका प्रमुख निर्वाचन आयुक्त विजय सुब्बाका अनुसार विभिन्न १६ समूहमा चुनाव मार्फत नेतृत्व चयन चयन हुनेछ ।अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्विरोध नहुने भएको छ । अध्यक्षमा २, उपाध्यक्षमा ५ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष र ७ सचिव चयन हुनेछन् ।
सुब्बाका अनुसार प्रदेश–१ र वागमती प्रदेशको खुला सदस्य, सम्पर्क समन्वय क्षेत्र, कर्णाली र सुदुर पश्चिमको खुला सदस्य, सुदुर पश्चिमको महिला सदस्य पदमा पनि निर्वाचन हुनेछ । यस्तै, आदिवासी जनजनति खुला सदस्य, आदिवासी जनजाति महिला, मधेसी खुला, दलितको खुला, थारुको खुला, महिला खुला, मुस्लिमको खुला र पिछडिएको क्षेत्रको खुला र महिलामा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेको छ ।खुला केन्द्रीय सदस्यमा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन हुने एमालेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश १ बाट खुलामा ६ जना निर्वाचित हुनेमा आइतवार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकाबाहेक धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति)ले उम्मेदवारी मनोयन गर्नुभएको छ ।
प्रदेश १ बाट हलमा प्रस्ताव भएका नाम किशोरकुमार अधिकारी, टंक आङ्बुहाङ, तिलकुमाार मेन्याङ्बो, राजेन्द्रकुमार राई, वसन्तकुमार नेम्वाङ र भाष्कर काफ्ले हुन् । त्यस्तै प्रदेश १ को खुल्लामा ६ जनाको मात्र उम्मेदवारी परेको छ भने वागमतीबाट हलमा प्रस्तावित बाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ । अध्यक्ष ओलीले हलमा कृष्ण राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना मगर, सरेश नेपालको नाम प्रस्ताव गरेका थिए ।
गण्डकी प्रदेशबाट हलमा प्रस्तावित नामबाहेक अरुले उम्मेदवारी दिएनन् भने सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमबाट हलमा प्रस्ताव गरिएका नाममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनी राना ,भैरवबहादुर सिंह र लीलाधर भट्ट छन् ।कर्णालीबाट पनि हलमा प्रस्तावितबाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले प्रस्ताव गरेका नाम भने गुलावजंग शाह, धर्मराज रेग्मी, डम्बरबहादुर सिंह, नेशनल शाही, निरज आचार्य र विष्णु रिजाल हुन् । त्यस्तै महिलामा पनि हलमा प्रस्तावित कमला वली, कमला बोहरा र सन्तोष शर्मा थापाबाहेक कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिएका छन् ।











