काठमाण्डौ – जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन ९कोप २६० स्कटल्यान्डको ग्लास्गोमा सुरु भएको छ । जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आज आइतवार औपचारिक समारोह हुन्छ भने भोलि सोमवारदेखि विश्व नेताहरूले छलफल र बहसको काम सुरु गर्नेछन् ।
जैविक इन्धनको प्रयोगसहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका बताइरहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण बताउनुभएको छ । सन् २१०० भित्र औसत तापमान वृद्धिलाई एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान दुई दशमलव ७ डिग्री सेल्सियसले बढिरहँदा त्यसले जलवायु परिवर्तनको दुर्भाग्यपूर्ण समस्या आउन सक्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । कोप २६ का अध्यक्ष आलोक शर्माले एक दशमलव पाँच डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम निकै कठिन रहेको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्ने बताउनुभयो । कोप २६ मा भाग लिन विश्वका झन्डै २५ हजार मानिसहरू स्कटल्यान्ड पुगेका छन् ।