काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर ल्याएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा उहाँले आर्थिक पुनरुत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरुत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताउनुभयो ।
उहाँले सबैलाई एकै ठाउँमा राखेर भन्दा पनि खास असर परेको उद्योगलाई कस्तो प्रोडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर ल्याएको बताउनुभयो । बैङ्कलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैङ्कको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैङ्कलाई दिएको उल्लेख गर्नुभयो । उहाँले चालू आवको मौद्रिक नीतिले एक करोडभन्दा सानो ऋणमा दुई प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैङ्कको नीतिलाई ‘नोबेल पोलिसी’को संज्ञा दिनुभयो । अधिकारीले शेयर धितोको रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको शेयर धितो कर्जामा सीमा तोकेको बताउनुभयो ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षको भन्दा मौद्रिक नीति धेरै सूचकका आधारमा सहज अवस्थामा आएको बताउनुभयो । अध्यक्ष दाहालका अनुसार २०७६ चैतमा ५.०३ रहेको स्प्रेड दर ३.६ प्रतिशत ओर्लिएको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले कठिन समयमा आएको मौद्रिक नीति पुनरुत्थान र स्थायित्वलाई सन्तुलनमा राखेर आएको बताउनुभयो । लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष वसन्त लम्सालले मौद्रिक नीति समग्रमा सकारात्मक भएको बताउनुभयो । वित्त कम्पनी सङ्घका तर्फबाट आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले रु एक करोडभन्दा सानो कर्जामा दुई प्रिमियम लिँदा फाइनान्स कम्पनीले समस्यामा पर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रको अपेक्षा विस्तारित मौद्रिक नीति भए पनि राष्ट्र बैङ्कले सन्तुलित भनेर सङ्कुचित मौद्रिक नीति ल्याएको उल्लेख गर्नुभयो ।