हेटौंडा – मकवानपुर प्रहरीले १०४ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार लागुऔषध गाँजासहित थाहा नगरपालिका–३ बाट मकवानपुरगढी–८ का ४१ बर्षीय अम्बर बहादुर घिसिङलाई पक्राउ गरेको हो ।
प्रहरीले मंगलबार थाहा नगरपालिका–३ दोबाटो स्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनि ट्रकलाई रोकी सुरक्षाजाँच गर्दा ट्रकमा लुकाई छिपाई ल्याइएको लागूऔषध गाँजा १०४ किलो फेला पारेको जनाएको छ । प्रहरीले ट्रक चालक घिसिङलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभएको छ ।











