हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार सिन्धुली जिल्ला स्थित ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सिन्धुलीगढी स्थित युद्ध सङ्ग्रहालय र निर्माणाधीन रानी दरबारको स्थलगत अवलोकन गर्नुभएको हो ।
सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उहाँले युद्ध सङ्ग्रहालयको निर्माणले जिल्लाको विकासमा टेवा पु¥याउने बताउनुभयो । ऐतिहासिक महत्व बोकेका स्थलको संरक्षण र प्रचारप्रसार गर्न सके यस्ता स्थलमा पर्यटनको माध्यमबाट जिल्लाको आयस्तर वृद्धि हुने उहाँको भनाइ थियो । राज्यले विगतको इतिहासलाई जीवन्त दिन लगानी गरेर बनाएको युद्ध सङ्ग्रहालयको सुरक्षाका दृष्टिले सिन्धुलीगढीको सुरक्षाका लागि प्रहरीको युनिट आवश्यकता रहेको जनाउँदै मुख्यमन्त्री पौडेलले आफू हेटाँैडा गएलगत्तै प्रहरी युनिटको व्यवस्थापन सवालमा काम गर्ने बताउनुभयो ।
युद्ध सङ्ग्रहालय र रानी दरबारको निर्माणले सिन्धुली पर्यटनका लागि गन्तव्यका रूपमा विकास भएको उल्लेख गर्दै उहाँले यस्तो इतिहासलाई प्रचारप्रसार गर्नसमेत निर्देशन दिनुभयो । सिन्धुलीगढी परिसरमा पुनः निर्माण भइरहेको रानी दरबारको निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले प्राप्त बजेटको अधिकतम प्रयोग गरी गुणस्तरीय संरचना निर्माण गर्न आग्रह गर्नुभयो । सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण र रानी दरबारको निर्माणपछि जिल्लाको ठूलो आम्दानीको स्रोत बन्ने जनाउँदै उहाँले प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेललाई कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले युद्ध सङ्ग्रहालय, रानी दरबार र सिन्धुलीगढीको विकासमा नगरको आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । सिन्धुलीगढीको संरक्षण र प्रचारप्रसारमा नगरपालिका लागिरहेको जनाउँदै उहाँले व्यवस्थापकीय काम नगरले गर्ने बताउनुभयो । सोही अवसरमा उपप्रमुख देवकोटाले नगरका विभिन्न स्थानमा रहेका खोलाले कटान गरेको र नदी नियन्त्रण, पहिरो व्यवस्थापनलगायत विपद्जन्य घटनाको रोकथाम तथा क्षति न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।
onlineradionepal.gov.np बाट