मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मङ्गलवार मकवानपुरमा एक साथ दुई वटा पुलको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ स्थित ठाँटी खोलामा निर्माण भएको पक्की पुल र वडा नम्बर ३ स्थित बकैया खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेश सरकार र स्थानीय बकैया गाउँपालिकाको संयुक्त लगानीमा समपूरक बजेट अन्तर्गत १ करोड रुपैयाँको लगानीमा निर्माण भएको बकैयाको श्रीपुर र रातदमार बिचमा रहेको ठाँटी खोलाको पुल २६ दशमलव २५ मिटर लम्बाई तथा ७ दशमलव २० मिटर चौडाइको रहेको छ । पुल निर्माणपछि बकैया वडा नम्बर ४, ५ र ६ का वासिन्दाहरुलाई मदन भण्डारी राजमार्गसम्म आइपुग्न सहज भएको छ ।
यस्तै मुख्यमन्त्री पौडेलले मंगलबार नै बकैयाको हात्तिसुडेबाट बसन जोडने झोलुङ्गे पुलको पनि उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारको आर्थिक सहयोग, राडो नेपाल तथा टिभिएसयुको प्राविधिक सहयोगमा निर्मित पुलको उहाँले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले विकासको युग प्रारम्भ भैसकेको बताउनुभयो । नेकपा एमाले नेतृत्वको सरकारले देशैभरि विकासको काम गरेको भन्दै उहाँले बागमती प्रदेश सरकारले मात्र साढे तिन वर्षको कार्यकालमा ४६ वटा पुल निर्माण गरेर सञ्चालनमा आएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा विघटित प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहाल, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, प्रदेश युवा परिषादका उपाध्यक्ष सन्ताेष चाैलागाइ, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सहित वडाअध्यक्षहरुको समेत सहभागिता थियो ।