मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि तयार पारेको बजेट सर्वसम्मतिले पारित भएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतको सभाध्यक्षतामा मंगलबार (आज) भएको नवौं नगरसभाको बन्द सत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित भएको हो ।
गत असार १० गते हेटौंडा उपमहानगरपालिकाको नवौं नगरसभामा २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । उक्त बजेटमाथि आज बसेको नगरसभामा छलफलसहित पारित भएको हो । बजेटमाथिको छलफलका लागि मंगलबार बसेको नगरसभामा ११ जना सभासद्हरुले आफ्नो राय सुझाव प्रस्तुत गर्नुभएको थियो । यस्तै आज बसेको नगरसभाले सोही दिन पेश गरिएको आर्थिक ऐन–२०७८ र विनियोजन ऐन–२०७८ पनि सभाले पारित गरेको छ ।