मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई करीब ४ करोड बराबरको २८ थान सवारी साधन उपलब्ध गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी कार्यालय मातहतको १० जिल्लाका प्रहरी कार्यालयलाई ३ करोड ५३ लाख २७ हजार ९ सय ८८ रुपैयाँमा १२ थान पिक अप भ्यान र ३७ लाख ३६ हजार रुपौयाँमा १ सय ५० सिसिको १६ थान पल्सर मोटरसाइकल खरिद गरेर बागमती प्रदेश प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले आज एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामालाई उक्त सवारी हस्तान्तरण गर्नुभएको हो । वर्षाको कारण बाढी पहिरोबाट पुर्याउन सक्ने धन जनको क्षतिलाई मध्यनजर गर्दै उद्वार तथा राहतको तत्काल ब्यबस्थापन गर्न सकियोस् भन्ने उदेश्यकासाथ प्रदेश सरकारले सवारी साधन उपलब्ध गराएको जनाईएको छ । बागमती प्रदेश मातहतका दुर्गम स्थानका प्रहरी कार्यालयहरुमा पुरानो गाडिहरु भएको हुँदा नयाँ खरिद गरेर हस्तान्तरण गरेको मन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारले अझै नयाँ सवारीहरु खरिद गरेर प्रदेशका प्रहरीलाई दिने बताउनुहुँदै उहाँले प्रहरीलाई प्रविधि र यातायात दुवै क्षेत्रमा बलियो बनाउनुपर्ने बताउनुभयो ।

प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी नआएकै अवस्थामा बागमती प्रदेश सरकारले प्रहरीलाई सवारी तथा प्रविधिको लागि रकम खर्चर्दै आएको छ । यस अघि प्रदेशको खर्चमा ४६ वटा प्रहरी चौकिको आधुनिक भवन निर्माण सम्पन्न भएको छ भने थप २१ वटा प्रहरी चौकि भवन निर्माण हुँदैछ । बागमती प्रदेश सरकारले प्रदेश प्रहरीलाई १ अर्बभन्दा बढी लगानी गरिसकेको छ । सवारी हस्तान्तरण कार्यक्रममा मन्त्रालयका मदन भुजेल,बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मिरा चौधरी,विभिन्न जिल्ला तथा प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।