मकवानपुर – मकवानपुरका स्थानीय तहहरु मिले सरुवा रोग अस्पताल स्थापना गर्ने सन्र्दभमा सोमबार जिल्लाका राजनैतिक दलहरुसंग परामर्श गरिएको छ । सरुवा रोग स्थापनाका लागि गठित परामर्श समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले “स्थानीय तह सरुवारोग अस्पताल” स्थापना तथा सञ्चालनका विषयमा उपलब्ध राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिसंग प्रारम्भीक छलफल तथा परामर्श गर्नुभएको हो ।

सदरमुकाम हेटौँडामा विशेषज्ञसहितको “स्थानीय तह सरुवा रोग अस्पताल” सञ्चालन गर्ने सन्दर्भमा राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिसंग अस्पताल सञ्चालनको उदेश्य एवम् हालसम्म भएका प्रयासका बारेमा बताउनुभएको थियो । उहाँले जिल्लामा सरुवा रोग अस्पताल आवश्यक रहेको हुँदा जिल्लाका १० वटै स्थानीय तह, संघीय सरकार, प्रदेश सरकार, निजी क्षेत्रलगायतको सहकार्यमा अस्पताल सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । तर अस्पताल कुन मोडलमा सञ्चालन गर्ने भन्ने बारेमा छलफलमै रहेको जानकारी दिनुभयो । उहाँले हालसम्म छोटो कानुनी अवधारणा तयार भएर मुख्यमन्त्री डोरमणि पौडेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी क्षेत्रसंग परामर्श भएको जानकारी दिनुभयो । यस्तै स्थानीय तहलाई जग्गा व्यवस्था र निती कार्यक्रममा समावेश गर्दै बजेट बिनियोजनका लागि पत्राचार गरिएको समेत जानकारी दिनुभएको थियो । उहाँले हालसम्म सबै क्षेत्रबाट सकरात्मक कुरा आएको र सबैको अपनत्वका लागि राजनैतिक दलसंग पनि सो विषयमा परामर्श गरिएको बतउनुभयो ।

सो क्रममा राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले अस्पताल सञ्चालन हुनु मकवानपुरका लागि राम्रो पक्ष हुने बताउनुभयो । उहाँहरुले यसमा सबैको सकारात्मक प्रयास हुनु पर्ने र आ–आफ्नो स्थानबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उहाँहरुले प्रदेशको राजधानी भएकाले पनि अस्पताल आवश्यक रहेको बताउनुभएको थियो । तर, अस्पताल सबैको अपनत्व हुने गरि प्रदेश वा केन्द्रिय सरकारले सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो । स्रोतको सुनिश्चितताका लागि प्रदेश वा केन्द्र सरकारले अपनत्व लिनुपर्ने उहाँहरुको भनाई थियो । उहाँहरुले विषय विज्ञसंग पनि परामर्श गरेर अगाडी बढ्नु पर्ने भन्दै सकारात्मक सोचका साथ ठोस निर्णय गरेर कार्यन्वयनमा लाग्न सुझाव दिनुभएको थियो । यस्तै भोलीका दिनमा यसले ठुलो संरचनाको रुप लिनसक्ने कुरालाई समेत ध्यानमा राख्दै गुरु योजनाका साथ काम अगाडी बढाउनु पर्ने समेत बताउनुभएको थियो । स्थापना मात्र ठुलो कुरा नभई यसको नियमितताका लागि पनि गुरुयोजनाका साथ अगाडी बढ्नु पर्ने र सबैको पहुँचका लागि राजमार्ग नजिक एवम् बस्तीबाट टाढा अस्पताल स्थापना गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

छलफलमा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा केन्द्रिय सदस्य मधु अधिकारी, जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा, नेपाली कांग्रेस मकवानपुरका कोषध्यक्ष गोपीलाल विक, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजिब सुवेदीलगायतको सहभागिता थियो ।