मकवानपुर–संघीय सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा मकवानपुरका स्थानीय तहहरुलाई ४ अर्ब बढी अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मकवानपुरका स्थानीय तहहरुलाई सबै प्रकारका अनुदान गरी कुल ४ अर्ब १९ लाख रुपैयाँ प्राप्त भएको हो ।
संघीय सरकारले सातवटा प्रदेश सरकार र ७५१ स्थानीय सरकारलाई अनुदानको घोषणा गर्दा मकवानपुरका १० वटा स्थानीय तहलाई मानीकरण, सर्शत, विशेष र समपूरक अनुदान गरी ४ अर्ब १९ लाख रुपैया प्राप्त भएको हो । संघीय सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई समानीकरण, सर्शत, विशेष र समपूरक अनुदान गरी कुल १ अर्ब १ करोड ९१ लाख विनियोजन गरेको छ । यस्तै थाहा नगरपालिकालाई ४३ करोड ५५ लाख विनियोजन गरेको छ ।
त्यस्तै मकवानपुुरका ८ गाउँपालिकालाई केन्द्र सरकारले २ अर्ब ५४ करोड विनियोजन गरेको छ । जसमा इन्द्रसरोवर गाउँपालिकालाई २० करोड ६७ लाख, कैलाश २६ करोड २३ लाख, बकैया ४० करोड, बागमती ३१ करोड ३३ लाख, भीमफेदी ३३ करोड ६३ लाख, मकवानपुरगढी ३८ करोड ९७ लाख, मनहरी ३३ करोड ९७ लाख र राक्सिराङ गाउँपालिकालाई ३० करोड ३८ लाख बजेट विनियोजन गरेको छ ।