नेपालमा थप ६ हजार ७ सय १४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । १९ हजार ३० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार ६ सय ७७ जना तथा ३ सय २२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ३७ जना गरी जम्मा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले जानकारी दिनुभयो । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ७६ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देश भरी आज कोरोना सङ्क्रमणबाट १ सय ४५ जनाको मृत्यु भएको मन्त्रालयका सह–प्रवक्ता अधिकारीले बताउनुभयो । मन्त्रालयका सह–प्रवक्ता अधिकारीका अनुसार १ हजार ६ सय ७१ जना आइसियुमा उपचार गराएका मध्येबाट ४ सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल, नेपालमा १ लाख १७ हजार ७७ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयका सह प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिका संस्थागत आइसोलेसनमा ८ हजार ४ सय ५७ जना र होम आइसोलेसनमा १ लाख ८ हजार ६ सय २० जना कोरोना संक्रमित रहेका छन् ।