मकवानपुर– मकवानपुरमा सञ्चालित विद्यालय प्रबलीकरण सम्बन्धी कार्यगत डकर्मी तालिम सम्पन्न भएको छ । भुकम्प प्रभावित १४ जिल्ला मध्ये मकवानपुरको हेटौंडा–१७ स्थित बालबोध माविमा तीन चरणमा कार्यगत तालिम सञ्चालन गरिएको थियो । सो मध्ये प्रथम चरणमा चैत्र १८ गतेबाट सञ्चालित ४० जना डकर्मीहरुको तालिमको आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समापन गर्नुभएको हो ।

No description available.

तालिमको समापन गर्नुहुँदै प्रमुख खुलालले प्रवलीकरण पछि विद्यालयको भवन सुरक्षित भएको बताउनुभयो । उहाँले शिक्षा प्राप्त गर्ने थलो मजवुत पाउनुका साथै सीप सिक्ने अवसर समेत प्राप्त भएको बताउनुभयाे । भवन बलीयो भएसंगै शिक्षाको गुणस्तर बढाउने र निर्माण भएका विद्यालयको संरक्षण गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले भुकम्प प्रभावित १४ मध्ये तीन जिल्लामा मात्र यस्तो प्रकारको सीप प्रदान गरिएको हुँदा प्राप्त सीप र अवसरलाई उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले सिकेका सीपलाई अवसरका रुपमा उपयोग गरेर भुकम्प प्रतिरोधि संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
२०७२ सालको भूकम्पबाट प्रभावित १४ जिल्लामा क्षतिग्रस्त सामुदायिक विद्यालयहरूमा प्रबलीकरण गर्नुपर्ने विद्यालयको प्रबलीकरण गर्न र उक्त कार्यका लागि जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकले बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण (शिक्षा) मार्फत भुकम्प प्रभावित १४ मध्ये मकवानपुर, गोरखा र काभ्रेमा एक/एक वटा विद्यालयमा तालिमसँगै विद्यालय भवन प्रबलीकरण भईरहेको छ । मकवानपुरमा बालबोध माविमा तीन चरणमा १२० जनालाइ ५० दिनका दरले प्रदान गरिने तालिमको प्रथम चरणको ४० जनाका लागि सञ्चालन गरिएकाे तालिम सम्पन्न भएको उहाँले बताउनुभयो । प्रबलीकरण सम्बन्धी दोस्रो र तेस्रो चरणको तालिम भने काेभिडकाे प्रभाव कम भए पछि सञ्चालन हुने समेत उहाँले बताउनुभयो । विद्यालयको प्रबलीकरण तथा प्रबलीकरण तालिम सञ्चालनका लागि कन्टेन्जेन्सी बाहेक कुल १ करोड ९१ लाख १३ हजार २८५ रुपैयाँ लागत रहेको छ । पहिलो चरणमा विद्यालयको ३० प्रतिशत प्रबलीकरणको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा १७ नम्बर वडा अध्यक्ष भैरब बहादुर राई, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का ईन्जिनीयर दिनेश यादव, विद्यालय प्रधानाध्यापक, व्यवस्थापन समितिका सदस्यहरू लगायात तालिमका सजहकर्ता एवम् ठेकेदार कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो ।