मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु भएको छ । शनिबारबाट निर्माण (जडान) सुरु गरिएको प्लान्टमा आजदेखि उत्पादन सुरु गरिएको छ । प्लान्टको आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभएको हो ।

हेटौंडामा कोरोना संक्रमितको संख्या वृद्धि भएर अक्सिजन अभाव भएपछि हेटौंडाका अक्सिजन व्यवसायी दिपक खनालले भारतबाट काठमान्डौं लानका लागि ल्याउनुभएको प्लान्ट हेटौंडा अस्पतालमा जडान गरिएको हो । अक्सिजन प्लान्ट व्यवसायी खनाल र मेयर महत बीचको आन्तरिक सहमतिमा अस्पतालमा जडान गरिएको हो । गम्भिर बिरामीको उपचारमा अक्सिजनका कारण समस्या आएपछि काठमाण्डांै लानका लागि रक्सोल भन्सारमा रहेको प्लान्ट मेयर महतको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरेर उत्पादन सुरु गरिएको हो ।

दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने उक्त अक्सिजन प्लान्टको खरिद मुल्य ३८ लाख रुपैयाँ रहेको छ । अस्पतालमा प्लान्ट नहुँदा चितवन, बारालगायत जिल्लाबाट अक्सिजन भरेर ल्याउने गरिनुका साथै त्याहाँपनि अभाव हुँदा अन्य जिल्लाबाट समेत ल्याईएको थियो । सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईले वताउनुभयो । अक्सिजन प्लान्ट नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या आइरहेको बताउँदै उहाँले अब सहज हुने बताउनुभयो । यहाँ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेशन, वार्डमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने उहाँले बताउनुभयो । हेटौंडा अस्पतालमा अहिले ५४ जना कोरोना संक्रमणका बिरामी उपचाररत छन् ।