हेटौंडा । बारा जिल्लाको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा हालसम्म १५ जनाको मृत्यु भएको छ भने २० बढी गम्भीर घाइते छन् । बस दुर्घटना लगतै गम्भिर घाइते भएकाहरुलाई हेटौंडाका बिभीन्न अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठुलो चोटपटक लागेकाहरुलाई उपचार गर्न हेटौंडाका निजी र सरकारी अस्पतालमा ल्याएपछी १५ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गर्नु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । मृत्यु हुनेमा ९ पुरुष र ६ जना महिला छन् ।
३ नम्बर पुल नजिक दुर्घटनामा परेकाहरुलाई मध्य केही बोल्दे गर्दा र केही अचेत अवस्थामा समेत हेटौंडाका तीन वटा अस्पतालमा ल्याइएको थियो । उनीहरुलाई डाक्टरले परिक्षणपछी मृत्यु भएको घोषणा गरिएको थियो । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी गौतमले जानकारी दिनुभयो । उनीहरुको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केहीको भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरिक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानी समेत परिरहेका कारण दुर्घटनामा परेको देखिएको ट्राफिक प्रहरीले जनाएको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका२२ मा दुर्घटना भएको हो ।