मकवानपुर– मकवानपुर प्रहरीले आईतबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै बस, ट्रक, कार, अटो तथा मोटरसाईकल/स्कुटर गरी ९० वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
कोरोना संक्रमण नियन्त्रणको लागि जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले आगामी ३१ गते राती १२ः०० बजे सम्म निषेधाज्ञा जारी गरेको छ । मकवानपुरमा कोरोना संक्रमित व्यक्तिहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञा उलङ्घन गरी चलाईएका बस ७ वटा, ट्रक १५ वटा, कार २ वटा, अटो १० वटा र मोटरसाईकल/स्कुटर ५६ वटा गरी ९० वटा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै निषेधाज्ञा अटेर गरी पसल संचालन गर्ने २ जना मानिसलाई समेत नियन्त्रणमा लिईएको जनाईएको छ । नियन्त्रणमा लिईएका सवारी तथा मानिसलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईएको प्रहरीले जनाएको छ ।