काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा तिब्र रुपमा अगाडि बढिरहेको र वर्तमान सरकारको ३ बर्षे कार्यकालमा नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी चैत १५ देखि काठमाडौँमा वितरण सुरु हुने र २ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा भइसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय तहहरूको प्रभावकारिता, आवश्यकता र औचित्य कोभिडको समयमा देखि सकेकाले स्थानीय तहबाट समृद्धिका लागि भइरहेका कार्यहरूको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले जनप्रतिनिधीहरु सामाजिक अभियन्ताका रुपमा जागरणका कामहरू गर्नुपर्ने बताउनुभयो । आफूलाई जनताको सेवक ठानेर काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वासका कारण आफू त्यो ठाउँमा पुगेको कुरालाई आत्मसात् गरेर काम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने भएको र त्यो विकासबाट पनि स्थानीय तहहरूले लाभ पाउने भएकाले सरकारले आवश्यकता र औचित्यका आधारमा बजेट दिइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले सडक बालबालिका र सडक मानवलाई मुक्त बनाएकाले सडक बालबालिका र सडक मानवमुक्त नेपाल बन्दै गएको बताउनुभयो । आफूहरूको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको संसदमा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको बताउनुभयो ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले स्थानीय तहहरूलाई अझ सबल र समृद्ध बनाउन सरकार तत्पर रहेको र यसबाटै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा नेपाल नगरपालिका संघका पदाधिकारीहरूले स्थानीय तहलाई टेवा पुग्ने गरी सशक्तीकरणका कार्यक्रमहरूको आवश्यकता रहेको बताउनुभयो । सोही अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट देखिएका तिलोत्तमा, कन्काई र वालिङ नगरपालिकालाई सम्मान पत्र प्रदान गरिएको थियो ।