मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ७५औं बोर्ड बैठक बुधबार सम्पन्न भएको छ । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हरेक महिनाको ४ गते बस्ने नियमित बोर्ड बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा शैक्षिक छात्रबृति प्रदान गर्ने सम्बन्धमा कार्यविधि स्वीकृत गरेको छ । बालबालिकाको शिक्षामा पहुँच बढाउन जिससले छात्रवृत्ति प्रदान गर्न कार्यविधि बनाएको र सो कार्यविधि बोर्डले स्वीकृत गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले तत्कालिन जिविस हुँदाका बखत सञ्चालित निर्माण सामग्रीको परिक्षण गर्ने ल्यावका सबै सामग्री यातायात पूर्वाधार निर्देशनालयलाई हस्तान्तरण गर्ने, जिससमा मौजदात बिग्रीएर चल्न नसक्ने अवस्थामा पुगेका विभिन्न सामग्रीहरु लिलामिका लागि कार्यालयलाई निर्देशन दिने, विविध शिर्षकबाट बजेट रकमान्तर गर्ने निर्णय गर्नुका साथै जिसस टोलीद्धारा भएको अवलोकन भ्रमणको समिक्षा गरिएको छ । यस्तै जिससका प्राविधिक कर्मचारी रामसेवक मण्डलका ममतामयी माताको निधन प्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा जिसस सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, सिता अधिकारी, चित्रबहादुर बलामी, बुद्धिबहादुर मोक्तान, सरिता विक, सानुकान्छि स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत कर्मचारीहरुको उपस्थिती थियो ।