मकवानपुर– हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको हेटौंडा मेयर कप–२०७७ को उपाधि १० नम्बर वडाले जितेको छ । सोमबार भएको फाइनल खेलमा हेटौंडा–१८ लाई शुन्यका बिरुद्ध पाँच गोल गर्दै वडा नम्बर १० विजयी भएको हो ।

खेलमा वडा नम्बर १० का बिके लामाले ह्याट्रिक गरेका थिए । यस्तै प्रितम स्याङबोले १ गोल गरे भने वडा नम्बर १८ का तर्फबाट एकगोल सुसाईट गोल भएको थियो । प्रतियोगितामा विजयी भएको वडा नम्बर १० ले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको १८ नम्बर वडाले नगद १ लाखमा चित्त बुझाएको छ । प्रतियोगितामा वडा नम्बर १० का सुमन छुमि उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार प्राप्त गरे । फागनु १५ गतेबाट सुरु भएको हेटौंडा मेयर कपको समापन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितामा हेटौंडाका १९ वटा वडाले सहभागिता जनाएको थिए ।