काठमाडौँ बासीको लामो समयको सपना आज आएर पूरा भयो : प्रधानमन्त्री

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै २७ किमी लामो सुरुङ मार्ग पार गर्दै सुन्दरीजलमा आइपुगेको पानीको बटम थिचेर सुन्दरीजलमा जलप्रवाहको शुभारम्भ गर्नुभयो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले काठमाडौँ बासीको लामो समयको सपना आज आएर पूरा भएको र सरकारले विकासमा फेरी नयाँ फड्को मारेको बताउनुभयो । उहाँले सरकार एकपछि अर्को गर्दै विकासमा तीव्र सफलता हासिल गर्न सफल भएको पनि बताउनु भयो । कोशी ब्यारेजबाट बहने पानी बागमतीमा ल्याउनु एउटा युगान्तकारी सफलता भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले बगेर जाने पानीको सदुपयोग गर्ने सरकारको नीति रहेको र यो त्यही नीतिको उदाहरण रहेको बताउनु भयो ।

पछिल्लो २३ दिनमा धेरै शिलान्यास र उद्घाटनहरू भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले फागुन १६ गते मात्रै ५ वटा ठुला सडक र पुलको उद्घाटन तथा ३१ वटाको शिलान्यास गरिएको बताउनु भयो । उहाँले अबको केही दिनमा काठमाडौँमा पानी वितरण हुने र यसका लागि पुराना पाइप लाइनमा सुधार गर्दै कुनै दुर्घटना र क्षति नहुने गरी पानी वितरण गर्न आयोजनालाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले अहिले आइरहेको पानीमा फागुन २६ गतेदेखि अझै थप हुने र २७ गते शिव रात्रिका दिन वाग्मतीमा सफा पानीले नुहाउन सकिने बताउनु भयो ।
अर्को एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रत्यक्षमा ११६ सिट जितेको पार्टी भत्काउनेहरूको भ्रममा नपर्न आग्रह गर्नुहुँदै जनताको साथमा विकासलाई तीव्र रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोसी ब्यारेजबाट बहने पानी बागमतीमा ल्याउनु एउटा युगान्तकारी सफलता भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले बगेर जाने पानीको सदुपयोग गर्ने सरकारको नीति रहेको र यो त्यही नीतिको उदाहरण रहेको बताउनुभयो । अर्को एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रत्यक्षमा ११६ सिट जितेको पार्टी भत्काउनेहरूको भ्रममा नपर्न आग्रह गर्नुहुँदै जनताको साथमा विकासलाई तीव्र रुपमा अगाडि बढाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सुरु भएको मेलम्ची खानेपानी आयोजना २२ वर्षपछि बल्ल प्रधानमन्त्री केपी ओलीको पालामा पुरा भएको उल्लेख गर्नु भयो । उहाँले आगामी चैतको दोस्रो सातोदेखि खानेपानी वितरण हुने जानकारी दिनुभयो ।
यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट करिब २ सय ६० लिटर प्रति सेकेन्डका दरले सुरुङमा पानी पठाइ परीक्षण पुनः आरम्भ गरिएकोमा मेलम्चीको पानी हिजो सुन्दरीजल आइपुगेको हो । दोस्रो चरण अन्तरगत याङ्ग्री र लार्केबाट दैनिक १७–१७ करोड लिटर पानी ल्याउनका लागि विस्तृत डिजाइन सम्पन्न भइसकेको र केही महिनाभित्र निर्माण कार्यका लागि प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ ।