मकवानपुर– मकवानपुरको बकैया गाउँपालिका देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गर्नुभएको हो ।

बालमैत्री अबलम्बन गर्ने देशमै दोस्रो गाउँपालिका बन्न सफल भएकोमा बधाइ दिनुहुँदै मुख्यमन्त्री पौडेलले निरन्तरताका लागि आग्रह समेत गर्नुभयो । उहाँले गाउँपािलकालाई घोषणा मात्र सिमित नरहन आग्रह गर्दै बालमैत्री सूचकको निरन्तर निगरानी गर्न आग्रह गर्नु भयो । बालमैत्री सूचकहरूभित्र बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बालमैत्री घोषणा गर्नुमात्र ठूलो नभएको भन्दै उहाँले स्थानीय सरकारले हरेक रूपमा बालबालिकाको हितमा काम गर्नुपर्ने बताउनुभयो । गाउँपालिका हरेक कुरा बालमैत्री हुनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बालमैत्री कार्यका लागि स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै प्रदेश सरकारले बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने योजनाका साथ अघि बढेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले घोषणा अनुसार निरन्तरताका लागि आग्रह गर्नुभयो । दोस्रो गाउँपालिका घोषणा हुनु मात्रै सफल भएको भन्ने ठाँन्न नहुने भन्दै निरन्तर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले पालिकाको सबे वडाहरुको अनुगमन गरेर घोषणाको अनुमति दिएको बताउनुभयो । गाउँपालिकाले बालमैत्री घोषणाका लागि सबै ३९ वटै सुचाकहरु पूरा गरेको बताउनुभयो । घोषणा मात्रै ठुलो कुरा नभइ आगामी दिनमा ती सुचकहरुमा गर्ने कामहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले सम्मुनत समाज निर्माणको लागि स्वास्थ्य शिक्षासंगै समग्र बिकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ३९ वटै वडामा बालसञ्जाल, बालमैत्री शाखा बनाएर करीब ३ वर्ष देखि अभियानका रुपमा काम गरेको थियो । गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको घोषणासभामा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, प्रदेश प्रमुख ससचिव मान बहादु बिक, जिल्लासमन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न गाउँपालिकाका प्रमुख÷उपप्रमुखहरुको सहभागिता थियो ।