मकवानपुर– अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती प्रदेश फुटबल संघको तदर्थसमिति गठन गर्ने प्रक्रिया अनिश्चित बनेको छ । बुधबार प्रदेश राजधानी हेटौंडामा भएको भेलामा अध्यक्षमा दाबी गर्नेको संख्या धेरै भएसँगै तदर्थ समिति गठनको प्रक्रिया अन्यौल बनेको हो ।
बागमती प्रदेशका ११ वटा जिल्ला फुटबल संघका प्रतिनीधिहरुबाट तदर्थ समिति बनाउने तयारी गरिएकोमा सबैजसो जिल्ला अध्यक्षहरुले प्रदेश अध्यक्षको दावी गरेसँगै गठन बिना निष्कर्ष टुंगिएका हो । अहिले बन्न लागेको बागमती प्रदेश फुटबल संघको तदर्थ समितिले ६ महिनाभित्र प्रदेश फुटबल संघको चुनाव गराउनुपर्ने हुन्छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फा पूर्वअध्यक्ष गणेश थापा समर्थक समूहबीचको विवादका कारण तदर्थ समिति गठन हुन नसकेको हो ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा एन्फा केन्द्रिय सदस्य पूर्णमान चित्रकार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दीपक खड्का, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख खुशराज दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टलगायतको आतिथ्यता थियो ।