प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहेको आफ्नै पार्टी भित्रबाट काम गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । काम गर्न खोज्दा जहिले पनि झमेला मात्रै सिर्जना गर्ने काम भएकाले आफूले नागरिकमा जाने निर्णय गर्नुपरेको उहाँले बताउनुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जोड–घटाउ, मोलतोल र लेनदेनको झमेलाले सरकारले काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो ।
उहाँले बहुमतलाई ध्वस्त पार्ने, अस्वस्थ र अनुचित गतिविधि बढाउने, ल्याइएका विधेयकहरू अड्काउने काम पार्टी भित्रैबाट भएको भन्दै दुःखेसो गर्नुभयो । यस्तै प्रणाली र संविधान नै बेठिक भयो भन्ने निष्कर्ष निकाल्न खोज्नेसमेत भएकाले प्राप्त उपलब्धि रक्षा गर्नका लागि पनि आफूले यस्तो कदम चाल्नुपरेको उहाँको भनाइ छ । झण्डै दुई तिहाइ प्राप्त सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको वातावरण बनेपछि थप सङ्कट ननिम्तियोस् भन्नका लागि आफ्नो कदम अघि बढेको उहाँले दाबी गर्नुभयो । यस्तै उहाँले गएको वैशाख १३ देखि पुस ४ गतेसम्म दुई सय ८० वटा गुटका बैठक बसेको बताउनुभएको छ । पार्टीलाई कमजोर पार्ने एउटै नेताको घरमा दुई सय ८० वटा बैठक बसेको र ३५ वटा बैठक अरू नेताको घर र अरू ठाउँमा बसेको उहाँले बताउनुभयो ।