सरकारले ३ वर्षको अवधिमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने गरी काम गरिरहेको र उल्लेख्य उपलब्धि समेत हासिल भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको आधिकारिक पक्ष आफूहरू भएको बताउनुहुँदै पार्टी विभाजन भएको भ्रममा नपर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेकपा काठमाडौं जिल्ला कमिटीले आज काठमाडौँमा गरेको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले पार्टी गठन हुँदाको पृष्ठभूमि तथा पार्टी विधान अनुसार पार्टीको मूलधार आफूहरू भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरू पार्टीको मूलधार भएको हुनाले कतै दाबी–निवेदन गर्नुपर्ने अवस्था नरहेको र प्रचण्ड–माधव नेपाल समूहले आफूहरू पार्टीको आधिकारिक समूह भएको दाबी गरे पनि त्यसलाई सिद्ध गर्ने आधार नभएको बताउनुभयो । उहाँले लोकतान्त्रिक पद्धति र विधान अनुसार पार्टी सञ्चालन गरिरहेको र असन्तुष्ट भएर बाहिरिएका नेताहरू समेत पुनः मूल पार्टीमा फर्कन सक्ने सम्भावना रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको लोकप्रियताबाट डराएर पार्टी भित्रकै नेताहरूले नेताहरू षड्यन्त्रमा लागेपछि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय लिनुपरेको बताउनुभयो । सरकारले ३ वर्षको अवधिमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने गरी काम गरिरहेको र उल्लेख्य उपलब्धि समेत हासिल भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो हुँदै गएको र नेपाल देखिने र सुनिने राष्ट्रको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो आवश्यकता र प्राथमिकता प्रष्ट राख्न सक्ने तथा द्विपक्षीय र बहुपक्षीय सहयोगहरू आदान–प्रदान गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।

कार्यक्रममा उप–प्रधानमन्त्री ईश्वर पोखरेलले नेताहरूको सत्ता स्वार्थ, कुण्ठा र अवसरवादी चरित्रका कारण सरकार चल्नै नसक्ने अवस्था आएपछि नयाँ निर्वाचनमा जानुपर्ने बाध्यता आएको बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिगमन र अस्थिरतालाई रोक्न प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो । नेताहरूले राजनैतिक कु गर्ने प्रयास गरेपछि प्रतिनिधिसभाको विघटन गरेको हुनाले प्रतिनिधिसभा विघटनको निर्णयलाई संवैधानिकभन्दा राजनैतिक दृष्टिकोणबाट हेर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिनुभयो ।