पछिल्लो समय मकवानपुर प्रहरी लागूऔषध नियन्त्रणका लागि लागूऔषधको उत्पादन हुने क्षेत्रमै पुगेर उत्पादन गरी भण्डारण गरिराखेको स्थानमा छापा मारेर लागूऔषध गाँजा, चरेश, अफिम नियन्त्रणमा लिइरहेको छ । त्यसरी लुकाईछिपाई राखेको ठूलो परिमाणको लागुऔषधसहित घरधनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको बढ्दो सक्रियता लगायतका विषयमा विवश अधिकारीले केहि समय अगाडी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहसँग गर्नुभएको कुराकानीः
मकवानपुरमा प्रहरी प्रमुखको रुपमा आउनुभएको छ । मकवानपुरको सुरक्षा अवस्था कस्तो पाउनुभएको छ ?
सिंहः हामीले समस्याको बारेमा हेर्नुपर्ने हुन्छ । म आएको दुई हप्ता भयो । मकवानपुरलाई लागुपदार्थको मुल टार्गेट भनेर चिनिन्छ र मकवानपुरको उत्तरी भेगतिर भईरहेको गाँजा खेती अझै बढ्दै गएको पाईएको छ । त्यसलाई न्युनीकरण गर्न स्थानीय सरकारले पनि जनचेतनामुलक कार्यक्रम गर्नु जरुरी छ । त्यस्तै भारत तर्फबाट आउने लागुपदार्थको समाधान गर्न कानुनको दायरामा ल्याउन राम्रो सुरक्षाजाँच गर्नुपर्छ । मकवानपुरकै हकमा भन्नुपर्दा महिला हिंसा तथा बालहिंसा पनि अत्यधिक पाईन्छ । त्यसका लागि हामी सबै ती हिंसा विरुद्धमा कठोरताका साथ लाग्नु पर्ने देखिन्छ । तेस्रो समस्याका रुपमा मैले सडक दुर्घटना पनि देखेको छु । विभिन्न किसिमका दुर्घटना दिन प्रतिदिन हुने भएकोले त्यसको समाधान गर्न हामी ट्राफिक प्रहरीस“ग सहकार्य गरी मादक पदार्थ सेवन नगरी सवारी चलाउने तथा सवारी नियमलाई तोड्नेहरुको लागि पनि कारवाहिको दायरामा ल्याउँछौं ।
अपराध नियन्त्रण, लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय देखिन्छ । अबको योजना के छ ? प्रदेश र स्थानीय सरकारसँग कसरी सहकार्य गरेर अगाडि बढ्नुहुन्छ ?
सिंहः हामीले सबै स्थानीय तहसँग सहकार्य गरिसकेका छौं । वडा वडामा पुगिसकेका छौं । समाजमा हुने विभिन्न घटनाहरुको समाधानका लागि हामी एकसाथ अगाडि बढ्ने सन्दर्भमा यो लागूपदार्थको समस्या सबभन्दा ठुलो समस्या भएको छ । यसलाई हटाउन स्थानीय तहकै ठूलो भूमिका अझ बढी प्रभावकारी होस् भन्ने किसिमले जनचेतनामुलक काम पनि गर्छौं र त्यसलाई भन्दा भन्दै पनि नमान्नेहरुलाई जस्तै गाँजा, अफिम अझै रोकिएको छैन, त्यस्ताहरुलाई पनि हामी कारवाहिको दायरामा ल्याउँछौं । तपाईले भनेजस्तै हामी बाटोमा मात्र होईन घरमै पुगेर पनि सुरक्षाजाँच गछौँ र कारवाहिको दायरामा ल्याउँछौँ । साँचै भन्नुपर्दा यस्ता विषयमा समाजको मूल भूमिका हुन्छ र समाज र हामी एकजुट भै अगाडि बढेमात्र यसको बिस्तारै न्युनीकरण हुन्छ ।
तपाईँहरुले गरिरहनुभएको यस्तो काममा स्थानीय सरकारको सहयोग कतिको पाउनुभएको छ ?
सिंहः सहयोग त छ, तर अझै प्रभावकारी हुन जरुरी छ । जस्तै राक्सिराङमा लागूपदार्थ अत्यधिक उत्पादन हुन्छ र त्यहाँका पदाधिकारीहरु हामीसँगै हुनुहुन्छ । त्यति हुँदाहुँदै पनि अझै सक्रिय हुनु पर्छ, किनभने यो संघीयताले धेरै अधिकार स्थानीय तहलाई दिएको छ, जस्तै साधन, स्रोत, बजेट यसका परिचालन राम्रो किसिमले गर्ने हो भने पक्कै पनि यो न्युनीकरण हुँदै जान्छ ।
लागूऔषध नियन्त्रणको प्रयास भएको लामो समय भयो समधान हुन सकेको छैन । अब प्रहरी र स्थानीय तह सक्रिय भईरहँदा यसको भविष्य के देख्नुहुन्छ ?
सिंहः यसमा अब हिजो भन्दा आज राम्रो भएको छ र यसलाई अझै प्रभावकारी रुपमा न्युनीकरण गर्दै गएमा भविष्यमा हामीले राम्रो परिणाम पाउनेछौँ । यो हाम्रो मकवानपुरमा मात्र होइन सिमाना उत्तरी धादिङबाट पनि लागूपदार्थ उत्पादन हुन्छ र हाम्रो जिल्ला हुँदै भारत जाने गर्छ । त्यसैले हामीले धादिङको प्रहरीसँग पनि समन्वय गरेका छौं । त्यसैले हामी सबैले आशा गर्न सक्छौं यो समस्या न्युनीकरण भएर जान्छ ।
यस्ता समस्या न्युनीकरण गर्न स्थानीय तथा प्रदेश सरकारले के गर्नु पर्छ ?
सिंहः यसमा माननीय मुख्यमन्त्रीले त हामीलाई एकदम कडाईकासाथ लाग्नु स्रोत र साधनको जे जति आवश्यकता छ त्यो हामी दिन्छौं भन्ने आश्वासन दिनुभएको छ । त्यस्तै हाम्रो जिल्ला समन्वय समिति र स्थानीय सरकारसँग हाम्रो सहकार्य भईरहेको अवस्था छ । यसमा हामीले विभिन्न कार्यक्रमहरु गरिरहेका छौं र कतै कतै प्रभावकारिता कम भएको जस्तो छ । यसलाई सुधार्न जरुरी छ ।
जनशक्ति र साधन–स्रोतको उपलब्धता कस्तो छ ?
सिंहः जनशक्तिको अभाव सबै ठाउँमा छ, जस्तै मकवानपुरमा ७५० हुनुपर्ने ६०० मात्र छ । यसमा प्रत्येक ७०० को एकजना प्रहरीले सुरक्षा गर्नुपर्ने अवस्था छ । जनशक्तिको अभाव साधन स्रोतको अभाव हुँदाहुँदै पनि हामी आफ्नो दायित्वबाट पछि हट्न मिल्दैन । राजधानी भएको हुनाले यहाँको सुरक्षा अति संवेदनशील भएर गर्नु पर्छ र योजनाबद्ध ढङ्गले हेर्नुपर्छ । प्रदेश प्रहरी कार्यालयबाट पनि हामीले सहयोग पाएका छौं । त्यसैले हामी साधन स्रोत कम भए पनि, जनशक्ति कम भएपनि सुरक्षामा कुनै सम्झौता गर्न सक्दैनौं । एकदमै सुदृढ सुरक्षा व्यवस्थाका साथ हामी अघि बढ्नेछौं ।