कोरोना भाइरस (कोभिड–१९) विरुद्धको रुसी खोप भारतमा उत्पादन गरिने भएको छ । स्पुतनिक–भी नाम गरेको खोप भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज उत्पादन गर्ने सहमति भएको रुसी खोप निर्माता कम्पनीले जनाएको छ । रुसको प्रत्यक्ष लगानी कोष आरडीआईएफले विज्ञप्ति निकालेर भारतीय कम्पनी हेटेरोले प्रतिवर्ष १० करोड डोज खोप उत्पादन गर्ने जनाएको हो ।
खोपको उत्पादन सन् २०२१ को सुरुदेखि हुनेछ । यसै हप्ताको प्रारम्भमा रुसले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको दाबी गरेका छन् । रुसले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । रुसले गएको अगस्ट महिनामै कोरोना भाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलोस्तरको क्लिनिकल परीक्षण विना नै रुसले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशङ्का उत्पन्न भएको थियो । अहिले स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रूपमा सहभागिता जनाएका छन् ।