बिश्व अधिकारी÷मकवानपुर
बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश भरका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने भएको छ । नागरिकबाट प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गर्न र प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने भएको हो ।
सबै स्थानीय तहमा पेटिका पु¥याउन सम्पूर्ण तयारी गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गरी प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटीका सञ्चालन सम्बन्धि कार्ययोजना समेत निर्माण भएको बताइएको छ । कार्ययोजना अनुसार तीनवटा चरणमा गरी सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटिका राखिने छ । पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र सदरमुकाममा रहेको गाउँपालिकामा पेटिका राख्ने र दोस्रो चरणमा सबै गाउँपालिका तथा तेस्रो चरणमा सबै वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने गिरीले जानकारी दिनुभयो ।
बिहीबारबाट प्रदेशका २५ नगरपालिका, एक महानगरपालिका, एक उपमहानगरपालीका र एक गाउँपालिका गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिने छ । स्थानीय निकायसंगको सहकार्यलाई थप दरिलो बनाउँदै दीगो र दीर्घकालीन साझेदारीको संयन्त्र निर्माण गर्ने, सर्वसाधारणको प्रहरी प्रतिको विश्वासमा अभिबृद्धि गर्ने, प्रहरी सेवा संचालनमा रहेका त्रुटि, कमी, कमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यकता अनुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउनका लागि गुनासो तथा सुझाव संकलन पेटिका सहयोगी हुने बागमती प्रदेश प्रहरी कार्यालयले विश्वास लिएको छ ।