भारतीय सेनाले लद्दाखकाे सीमा क्षेत्रमा नियन्त्रण रेखा उल्लङ्घन गरेकाे चिनियाँ आराेपकाे भारतले खण्डन गरेको छ । हिमाली क्षेत्रमा रहेको यो सीमामा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली चलाएकाे भारतले दाबी गरेको छ । प्रतिक्रिया स्वरूप आफ्ना सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकले हावामा गोली चलाएकाे भारतको दाबी छ ।
साेमबार राति चिनियाँ सेनाले भारतीय सैनिकले चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो । विश्लेषकका अनुसार सन् १९७५ पछि सीमामा गोली चलेको यो पहिलो पटक हो । गएकाे जुन महिनामा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिककाे ज्यान गएकाे थियो । त्याे घटनामा आफूतर्फ कति सैनिक हताहत भए भन्नेबारे चीनले अहिलेसम्म मुख खाेलेका छैन ।