फाइल तस्विर

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुलेपछि स्थानीय समुदायमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको हुनाले थप सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले लकडाउन खुलेपछि काठमाडौ उपत्यका सहित विभिन्न स्थानमा समुदाय स्तरमा संक्रमण फैलिरहेको बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले सुरक्षकर्मी, स्वास्थ्यकर्मी लागायत अत्यावश्यक सेवामा खटिने कर्मचारी तथा जनप्रतिनिधीहरूमा समेत संक्रमण देखिनुले आगामी दिनमा ठूलो समस्या आउन सक्ने संकेत गरेको बताउनुभयो । प्रवक्ता प्रा.डा. गौतमले सम्भावित स्वास्थ्य संकट व्यवस्थापलाई सहज तुल्याउन अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूलाई आलोपालो गरी सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो ।

मन्त्रालयले समुदाय स्तरमा संक्रमण देखिन थालेपछि कोरोना परीक्षणको दायरा समेत थप फराकिलो बनाएको छ । झाडापखालाका बिरामी तथा गन्ध र स्वाद छुट्टयाउने क्षमतामा कमी आएका व्यक्तिहरूको समेत रियल टाईम पिसिआर परीक्षण गर्नेगरी दायरा फराकिलो बनाएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । प्रवक्ता प्रा.डा. गौतमले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षणको दायरामा ल्याउनका लागि एक समूहमा ३ जना स्वास्थ्यकर्मी रहने गरी प्रत्येक गाउँपालिकामा १–१ वटा प्रत्येक नगरपालिकामा २–२ वटा, हरेक उप–महानगरपालिकामा ३–३ वटा र हरेक महानगरपालिकामा ५–५ वटा स्वास्थ्यकर्मीको समुह परिचालन गरिएको बताउनुभयो ।

यसैगरी मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि २ सय ५० भेन्टीलेटर सहितको आइसियु बेड थप गरिसकेको र २ सय ४० वटा बेड थप गर्नका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । हाल नेपालका विभिन्न अस्पतालमा करिब २ हजार ६ सय आइसियु बेड तथा करिब ९ सय भेन्टीलेटरको सुविधा उपलब्ध रहेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयले गम्भीर लक्ष्यण भएका संक्रमितको संख्या बढ्न थालेपछि लक्षण नभएका संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा बस्न सक्ने व्यवस्था गरी अस्पतालका बेडहरू गम्भीर बिरामीका लागि सुरक्षित गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज ६ हजार ३ सय ३० सक्रिय संक्रमितहरू मध्ये ६६ जनाको आईसियुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौ उपत्यकामा १ सय ६ जना सहित देशभरीमा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौ उपत्यकामा आज हाल सम्मको सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् ।

यसैगरी आज थप ५ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको कुल संख्या ७० पुगेको छ । आज पर्साका ३ जना, सिराहाका १ जना र सर्लाहीका १ जनाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।