मकवानपुर– बागमती प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धी विधेयक पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट प्रदेश भित्रको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विधेयक पारित गरियोस् भनि बैठकमा पेश गर्नुभएको विधेयक सर्वसम्मत पारित भएको हो । मुख्यमन्त्री पौडेलले उक्त विधेयकको छलफलमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रदेशमा सुशासन ल्याइ जनताहरुलाई शान्ति–सुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई ऐनले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्न उक्त विधेयकले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्षका सदस्यहरुले राखेका सुझाव र जिज्ञासाहरुलाई आफ्नो मन्त्री परिषद्ले आत्मसात गर्ने र प्रदेशमा सुशासनको लागि भ्रष्टाचार नियन्त्रण गर्ने अभियानलाई सरकारले उच्च प्राथमिकता दिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले सरकारको नीति कार्यक्रमलाई पारर्दशी र निष्पक्ष रुपमा कार्यान्वयन गर्न चालु आर्थिक २०७७÷०७८ मा प्रदेश सरकारले कार्य सम्पादन करार सम्झौता समेत गरेको बताउनुभयो ।