हेटाैंडा– कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो ।
प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएकाे थियाे । संविधान संशोधन विधेयकको पक्षमा २५८ सांसदले मतदान गर्नुभएक्ाे थियाे । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दैन भन्नेमा पनि कुनै पनि मत नपरेको सभामुख सापकोटाले बताउनुभयाे ।
प्रतिनिधिसभाका २६५ सांसद मध्ये संविधान संशोधनका क्रममा २५८ जनामात्र उपस्थित हुनुहुन्थ्याे । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गर्नुभएकाे थियाे । मतदानका क्रममा १२ सांसद अनुपस्थित हुनुहुन्थ्याे । ४ जना सांसद निलम्बनमा छन् भने सभामुखले मतदानमा सहभागिता जनाउँदैनन् ।
भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो । नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो । उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरेको हो ।