फाईल फोटो

मकवानपुर– पहिरोको कारण शनिबार बिहानदेखी अवरुद्ध रहेको काठमाडौं जोड्ने छोटो दुरीको भिमफेदी–कुलेखानी सडक सुचारु भएको छ । शुक्रबार रातिदेखिको लगातारको वर्षका कारण दुई स्थानमा लेदो माटो सहितको पहिरो गएर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सुचारु भएको हो ।
शुक्रबार रातिदेखि लगातारको वर्षका कारण भिमफेदी–कुलेखानी सडक खण्ड अन्तरगत भिमफेदी–६ जुरीखेतमा र त्यसकै २०० मिटर तल दुई ठाउँमा पहिरो गएको थियो । दुबै ठाउँको पहिरो पन्छाएपछि बिहानदेखी अवरुद्ध रहेको उक्त सडकखण्ड खुलेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरिक्षक राम बालक रायले जानकारी दिनुभयो । दुवै स्थानको पहिरो हटाएपछि अवरुद्ध रहेको सडक दुवैतर्फी सुचारु भएको उहाँले बताउनुभयो ।