हेटौँडा, २१ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापा मारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले राज्यका निकायले गर्ने छानबिनलाई सकारात्मक रूपमा लिए पनि अकस्मात् गरिएको छापा मारीले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताउनुभएको छ ।
मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने अवस्था हुँदाहुँदै छापामार शैलीमा खानतलासी गरिनु दुःखद भएको उल्लेख गर्नुभएको छ । “सञ्चार माध्यममा आएका समाचार र विभागको छापा मारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमा आघात पुगेको महसुस भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
आफू मुख्यमन्त्री भएपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको बानियाँको दाबी छ । उहाँले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौती र आर्थिक मितव्ययिताका लागि निरन्तर काम गर्दै आएको समेत बताउनुभएको छ ।
संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने मुख्यमन्त्रीले प्रस्ट पार्नुभएको छ । विभागले हेटौँडा र काठमाडौँस्थित उहाँको घर तथा बानियाँ निर्माण सेवाको कार्यालयबाट केही कागजातहरू नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री बानियाँले यस घटनाबाट बागमती प्रदेशवासी, आफ्ना शुभेच्छुक र शुभचिन्तकहरूलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्नुका साथै आफू जनताको सेवकका रूपमा सदैव सेवामा तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।












