हेटाैंडा, चैत्र २५ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा जिल्ला अदालत काठमाण्डाैले हिजाे पक्राउ पुर्जी जारी गरेको हो । योसँगै देउवा दम्पती फरार सूचीमा पर्नुभएको छ ।
देउवा दम्पतीविरुद्ध यसअघिदेखि नै सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियो । गृह मन्त्रालय स्रोतकाअनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट शुरू हुन्छ । देउवा सपरिवार विदेशमा हुनुहुन्छ । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा आन्दोलनकारीहरूले देउवा दम्पतीमाथि हातपात गर्नुका साथै घरमा आगजनी गरेका थिए ।
आगजनीका क्रममा देउवा निवासमा जलेका विदेशी र स्वदेशी मुद्रा फेला परेको दाबीसहित कैयौँ भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भए । पछि देउवाले ती भिडिओहरू एआईबाट तयार पारिएका दाबी गर्नुभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पनि आगजनी भएको घरमा पुगेर मुचुल्का बनाई त्यो विषयमा अनुसन्धान थालेको थियो ।
आन्दोलनका क्रममा घरमा आगजनी हुँदा नोट जलेको विषयमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परिसक्नुभएको छ । सरकारले पूर्वप्रधानमन्त्री देउवासहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो सिफारिशमा भदौ २४ गते देउवालगायत अन्य व्यक्तिहरूको घरमा आक्रमण हुँदा फेला परेको रकमका बारेमा कानूनबमोजिम विस्तृत अनुसन्धान गर्न सिफारिश गरेको थियो ।