मकवानपुर, चैत्र २५ । मकवानपुरको पश्चिमी बिकट एवम् दुर्गम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको समन्वयमा गाउँपालिकाले पालिकास्तरबाटै परिचयपत्र उपलब्ध गराउन थालेको हो ।
लामो समयदेखि परिचयपत्रको प्रतीक्षामा रहेका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले मंगलबार वडा नम्बर ९ मा घुम्ती शिविर सञ्चालन गरी वितरण कार्यको सुरुवात गरेको छ । यसअघि सामान्य प्रशासनिक कामका लागिसमेत घण्टौँको पैदल यात्रा र यातायातको खर्चेर सदरमुकाम हेटौँडा पुग्नुपर्ने बाध्यता अब राक्सिराङवासीका लागि अन्त्य भएको पालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङले मकवानपुरमै पहिलोपटक यो सेवा आफ्नै पालिकाबाट सुरु गरेर संघीयताको मर्म अनुसार गाउँमै सरकारको अनुभूति गराएको बताउनुभयो । “हाम्रा नागरिकलाई एउटा परिचयपत्र लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अब हटेको छ,” अध्यक्ष मल्लले भन्नुभयोे, “अहिले हामीले परिचयपत्र वितरण गरिरहेका छौँ, अब छिट्टै यहीँबाटै नयाँ फाराम भर्ने र फोटो खिच्ने कार्य पनि सुरु गर्ने गरी तयारी गरिरहेका छौँ ।”
विभागबाट अन्य वडाहरूको परिचयपत्र प्राप्त हुने बित्तिकै सम्बन्धित सेवाग्राहीलाई पालिकाबाटै वितरण गर्ने गरी समन्वय भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देस मास्केले बताउनुभयो । विगतमा सरकारी सेवा लिनका लागि लामो दूरी तय गर्नुपर्ने झन्झट हट्दै गएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन् । विकट बस्तीहरूमा घरदैलोमै सरकारी सेवा पुग्दा सिंहदरबारको अधिकार साँच्चिकै गाउँमा पुगेको आभास भएको स्थानीयले बताए ।
‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित पालिकाले चैत ११ गतेदेखि विभिन्न वडामा शिविर सञ्चालन गरेर रोजगार, महिला विकास, लघु उद्यम, एलोपेथिक तथा आयुर्वेद स्वास्थ्य सेवा, कृषि तथा पशुपन्छी, पोषण तथा सरसफाइ, सामाजिक सुरक्षा लगायतका सेवा एकै स्थानबाट उपलब्ध गराएको थियो ।











