मकवानपुर, चैत्र २४ । बागमती प्रदेशको सत्रौं अर्थात बजेट अधिवेशन आज मंगलबारबाट सुरु हुँदैछ । बागमती प्रदेशको प्रदेशसभाको सत्रौं अधिवेशनको पहिलो बैठक आज मंगलबार दिउँसो ४ बजे बस्ने भएको हो ।
आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार आजका लागि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुभएको थियो । प्रदेशसभाको बैठक हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको अस्थायी सभा हलमा बस्नेछ । यसअघि जेन(जी) आन्दोलनका क्रममा हेटौंडा–१० मा रहेको प्रदेशसभा भवनमा आगजनी भएपछि वैकल्पिक स्थलबाट बैठक सञ्चालन गर्न लागिएको हो ।
आज बस्ने प्रदेशसभाको बैठकमा सभामुखको राजीनामा सम्बन्धी पत्र वाचन, सभामुखको अनुपस्थितीमा अध्यक्षता गर्ने दलगत रुपमा ५ जना सदस्य मनोनयन तथा दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामकुमार पैडेलले जानकारी दिनुभयो ।
राप्रपाबाट सभामुख बनेका भुवन पाठकले जेन(जी) आन्दोलनपछि पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ । संविधानअनुसार प्रदेशसभा बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था अनुसार यसै अधिवेशनबाट बागमती प्रदेशसभाले नयाँ सभामुख चयन गर्ने छ ।
प्रदेश सभामा हाल दुईवटा नयाँ विधेयक दर्ता रहेको, एउटा समितिमा छलफलमा र एउटा विधेयक छलफल गर्दा गर्दै रोकिएको गरेर चारवटा विधेयक रहेको सचिव पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रदेश सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व र खानेपानी तथा सरसफाई विधेक नयाँ दर्ता भएका छन् । भने, चलचित्र विधेयक समितिमा छलफलमा रहेको र चीट्टा विधेयक छलफल गर्दा गर्दै रोकिएको अवस्थामा रहेको छ ।











