मकवानपुर, चैत्र २३ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रदेशको राजधानी हेटौँडा क्षेत्रका राजमार्गमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी साधन हटाएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१, २, ४, १० र ११ नम्बर वडाभित्र पर्ने राजमार्ग क्षेत्रमा अनावश्यक रूपमा पार्किङ गरिएका सवारी साधन हटाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा राजमार्गदेखि भित्री सडकसम्म जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढ्दै गएकोले यातायात व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको हुँदा त्यसलाई व्यवस्थित गर्न यस्तो गरिएको बताउनुभयो । यस्तै प्रहरीले भोली चैत २४ गतेदेखि राजमार्गको दायाँ–बायाँ सवारी साधन पार्किङ नगर्न सर्वसाधारणलाई आग्रह गर्दै त्यस्तो भएको पाईएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।











