मकवानपुर, चैत्र २३ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न÷नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ । कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न, कसैले अतिक्रमण गरेको भए तत्काल खाली गर्न र संरक्षणमा सहयोग गर्न आग्रह गरेको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउने बारे सरकारको १०० बुदें शासकीय सुधार कार्ययोजनामा उल्लेख भएको र सो विषय तत्काल कार्यान्वयन गर्ने सम्बन्धमा सार्वजनीक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्नु कानुनविपरीत कार्य भएकाले यस्तो गतिविधि नगर्न सचेत गराइएको हो । अतिक्रमण गरेको पाइएमा वा अतिक्रमित जग्गा खाली नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ । त्यसैगरी, जिल्लाभित्र सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण भएको जानकारी भए जिल्ला प्रशासन कार्यालयमा सूचना उपलब्ध गराई सहयोग गर्न पनि अनुरोध गरिएको छ ।












