मकवानपुर, चैत्र २३ । बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आधिवेशन आह्वान गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोली चैत २४ गते मंगलबार दिउँसो ४ बजेबाट सुरु हुने गरि अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । त्यसयता करिब ९ महिनापछि अधिवेशन बस्न लागेको हो । यसअघि साउन २७ गते बसेको बैठकपछि प्रदेशसभा निष्क्रिय बनेको थियो भने सरकारले मंसिर ३ गते वर्षे अधिवेशन अन्त्य गरेको थियो । आगामी बैठक हेटौँडा उपमहानगरपालिकाको सभाहलमा अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।