File photo

मकवानपुर, चैत २० । मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चैत २० गते हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयको एसईई परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–४ घर भई हाल हेटौँडा–४ मा बस्दै आएका हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत करिब १८ वर्षीय बिराज बिक अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो राखी परीक्षा दिन आएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा उनले हेटौँडा–१२ पदमपोखरी निवासी १९ वर्षीय अंकिश श्रेष्ठको नाममा परीक्षा दिन आएको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।