मकवानपुर, चैत्र १९ । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत गठित श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्न भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको थियो । यस्तै निजी क्षेत्रसँग सहकार्य अभिवृद्धि गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउने, उद्यमशीलता विकास गर्ने तथा श्रम बजारलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको र त्यसका लागि छिटै प्रदेश सरकारले सम्बन्धित निकायहरुमा अनुगमन गर्ने र आगामी बजेटलाई कमजोर देखिएका क्षेत्र सुधारमा प्राथमिकता दिने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले प्रदेशमा बढ्दो बेरोजगारी चुनौतीलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “श्रम क्षेत्रको सुधार बिना समग्र आर्थिक विकास सम्भव छैन । त्यसैले रोजगारी सिर्जना, सीप विकास र श्रमिक अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउन मन्त्रालयले आवश्यक कदम चान्ले छ ।” मन्त्री थापाले श्रमिकलाई देशमै अवसर सिर्जना गर्न सके वैदेशिक रोजगारीमा निर्भरता क्रमशः घट्दै जाने उल्लेख गर्दै त्यसका लागि राज्य, निजी क्षेत्र र श्रमिकबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले सीपमूलक तालिमलाई बजारसँग जोडेर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तालिमपछि रोजगारी सुनिश्चित हुने खालका कार्यक्रम ल्याइने पनि जानकारी दिनुभयो । साथै श्रमिकको हकहित संरक्षणका लागि अनुगमन संयन्त्रलाई थप सुदृढ गरिने र श्रम सम्बन्धी सेवाहरूलाई पारदर्शी तथा प्रविधिमैत्री बनाइने बताउनुभयो ।
बैठकले प्रदेशमा रोजगारीका अवसर विस्तार गर्ने, सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमलाई प्रभावकारी बनाउने, श्रमिक अधिकार संरक्षणका लागि अनुगमन प्रणाली मजबुत बनाउने तथा वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ । बैठकले श्रम क्षेत्र सुधारका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउनेमा जोड दिएको जनाईएको छ । बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिवहरू, सम्बन्धित निकायका प्रतिनिधिहरू, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।