हेटाैंडा, चैत्र १९ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। यस अवसरमा हनुमानका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने पूजाआराधना, भजनकीर्तन र शोभायात्रा आयोजना गरिएका छन् ।
चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको श्रद्धापूर्वक पूजा गरे बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख–संकटबाट मुक्ति पाइने धार्मिक विश्वास छ। राजधानीस्थित हनुमानढोका दरबार परिसर, पशुपति क्षेत्र, गोकर्णेश्वरस्थित पञ्चमुखी हनुमानलगायत देशभरका मन्दिरहरूमा विशेष पूजा भइरहेको छ। हनुमानढोकाको नासलचोक नजिक रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्र पूजाआराधना गर्ने चलन रहिआएको छ।
संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप्’ प्रत्यय लागेर ‘हनुमान’ शब्द बनेको मानिन्छ। ‘हनु’ को अर्थ चिउँडो र ‘हन्’ धातुको अर्थ गति वा हिंसा हुने भएकाले हनुमानलाई वेगवान् शक्ति र आज्ञापालक भक्तका रूपमा व्याख्या गरिन्छ। धार्मिक ग्रन्थहरूमा हनुमानलाई भगवान् रामका परम भक्तका रूपमा चित्रण गरिएको छ।
हनुमानलाई पवनपुत्र तथा बजरंगबलीका नामले पनि चिनिन्छ। शास्त्रीय मान्यताअनुसार उनी एकादश रुद्रमध्ये एघारौँ रूप मानिन्छन् र शिवको अवतारका रूपमा रामलाई सहयोग गर्न जन्मिएको उल्लेख पाइन्छ। रामायण हनुमानसम्बन्धी प्रमुख प्रमाणिक स्रोत मानिन्छ।
स्कन्द पुराणलगायतका ग्रन्थमा हनुमानलाई पराक्रम, धैर्य, बुद्धि, नीति र उत्साहका प्रतीकका रूपमा वर्णन गरिएको छ। भक्तियोग र कर्मयोगमार्फत उनले भगवान् रामको निकटता प्राप्त गरेको विश्वास गरिन्छ। अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, ईशित्व र वशित्वजस्ता आठ यौगिक शक्तिहरू हनुमानमा विद्यमान रहेको धार्मिक मान्यता छ।
यस दिन श्रद्धालुहरू पवित्र नदी तथा तीर्थस्थलमा स्नान गरी व्रत बस्ने र हनुमान चालिसा पाठ गर्ने परम्परा छ। हनुमानलाई ‘संकटमोचक’का रूपमा पूजा गरिने भएकाले रोग, भय, नकारात्मक शक्ति तथा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास गरिन्छ।
हनुमानका मूर्तिमा सिन्दूर चढाउने परम्परा पनि विशेष रूपमा प्रचलित छ। देशभरका मन्दिरहरूमा पूजाआराधनासँगै शोभायात्रा निकाल्ने कार्यक्रमसमेत आयोजना गरिएको छ। मंगलबार र शनिबार हनुमानको विशेष पूजा गर्ने चलन रहिआएको छ।











