मकवानपुर, चैत १९ । मकवानपुरमा आज (चैत १९) गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षामा कुल ७ हजार १ सय ९२ विद्यार्थी सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरिका अनुसार यस वर्ष ५ हजार ५२७ जना नियमित तथा १ हजार ६६५ जना ग्रेडवृद्धितर्फका विद्यार्थी सहभागी हुँदैछन् ।
यस्तै प्राविधिक धारतर्फ १७५ जना नियमित र ८८ जना ग्रेडवृद्धिका गरी कुल २६३ विद्यार्थीले परीक्षा दिने उहाँले बताउनुभयो । जिल्लामा हाल प्राविधिक धारका १० वटा विद्यालय सञ्चालनमा रहेका छन् । परीक्षा सञ्चालनका लागि जिल्लाका १० स्थानीय तहअन्तर्गत २८ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । तीमध्ये हेटौँडा उपमहानगरपालिकामा मात्रै १५ वटा केन्द्र रहेका छन् भने अन्य पालिकाहरूमा एकदेखि तीन वटासम्म केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।
परीक्षालाई व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई केन्द्रको भौतिक तथा व्यवस्थापकीय अवस्था, प्रश्नपत्र तथा उत्तरपुस्तिकाको सुरक्षा, परीक्षा केन्द्रको संवेदनशीलता, अनुगमन प्रणाली तथा विद्यार्थी अनुशासनका विषयमा विस्तृत अभिमुखीकरण गराई सकिएको छ । परीक्षालाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरि तयारी गरिएको छ । उहाँका अनुसार परीक्षा अवधिभर सुरक्षा व्यवस्था सुदृढ बनाउँदै शान्त, निष्पक्ष र मर्यादित वातावरणमा परीक्षा सञ्चालन गरिने छ । यस वर्षको एसईई परीक्षा आज चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ ।