मकवानपुर, चैत्र १८ । बागमती प्रदेशकाे सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेशमा ७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको प्रशासनिक संरचना सानो बनाउँदै हाल रहेका १३ वटा मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलेको अध्यक्षतामा मंगलबार काठमाडौंमा सम्पन्न बैठकले मन्त्रालयसँगै निर्देशनालयको संख्या पनि घटाउने प्रस्ताव गरेको छ । हाल रहेका ७ निर्देशनालयलाई घटाएर २ मा सीमित गर्ने तथा ५ वटा खारेज गर्ने निर्णय गरिएको छ । साथै ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने मस्यौदालाई अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
त्यस्तै, एक हप्ताभित्र प्रदेशसभा बैठक बोलाउन सरकारसँग माग गरिएको छ। साथै प्रदेशसभा सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रशासनिक पुनःसंरचना सम्बन्धी उच्चस्तरीय समितिको मस्यौदामाथि छलफल गर्दै सरकारमा सहभागी दलहरूबीच सहमतिमा अघि बढ्न सुझाव दिइएको छ ।
यसैबीच, कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। साथै पार्टीभित्रका आन्तरिक विवाद संवादमार्फत समाधान गरी आगामी १५औँ महाधिवेशनलाई एकताको सन्देश दिने दिशामा अघि बढ्न आग्रह गरिएको छ । बैठकले विभिन्न व्यक्तित्वहरूको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ ।